Sunday, April 1, 2012

निम्तो

गएको  चैत १८ गते घन्टौंदेखि पर्खंदै थिएँ माइक्रो, एक्कासी ऊ मेरा अगाडी झुल्क्यो !

ट्राफिक जाम पनि त्यही बेला हुनुपर्ने, अलि अगाडि बसले टेम्पोलाइ ठक्कर दिएको हल्ला पनि सुन्दै थिएँ ! टेम्पो चलाउने ड्राइभर दिदी घाइते भएर वि एण्ड वि लगे रे भन्ने पनि सुनें ! हुन त अहिले बसको हर्नले तर्सेर कोहि लडेपनि वि एण्ड वि नै लान्छन, आखिर उल्फाको धन त हो ! खैर, मलाइ सरोकार नभा'को कुरामा किन चासो राख्नु  ?

मेरो अगाडिको त्यो बाइकको हर्नले मलाइ झस्कायो ... उसले अगाडिको गाडीलाई संकेत दिएको भएपनि मेरो आँखा उसैतिर लम्कियो ! मलाइ लाग्यो भाइजर लगाएको त्यो अनुहार मसँग परिचित हुन पनि त सक्छ !  मेरा आँखा उतिर के फर्केथे, उसले भाइजर खोल्यो र मुस्काए झैं गर्यो ! म पनि मुस्काएँ कि था छैन ! अनायासै उ बोल्यो "काँ सम्म ?" उस्लाई लाग्यो होला म कसैको लिफ्ट लिन आतुर छु र उसबाट मैले आशा राखेको छु ! तर बास्तबिकता त्यो नभएपनि निमेषभर मै मैले उसको सोचाइ सहि साबित गरेँ ! ५ बजे नै घरबाट हिंडेकी म अबको १५ मिनेटमा घर पुग्नु पर्छ नत्र सानु ममीको खप्की खानु र बिना आम्दानी ओभरटाइम जब गर्नुको विकल्पै छैन ! अहिले सवा १० भएको छ र मैले जम्मा जम्मी १५ मिनेट भजाउनु छ आफ्नो इमान जोगाउन !

मैले सोच बिचार नै नगरी त्यो अपरीचितलाई जवाफ दिएँ "म गठ्ठाघरसम्म" ! उसले खै किन हो मलाइ तलदेखि माथिसम्म नियाल्यो र भन्यो "ठिकै छ, हिंड न त, म कौशलटारसम्म जाने हुँ, छोड़दिउँला !"

म निरीह प्राणी झैं उसको पछाडी बसें ! जाम अझै खुलेको थिएन ! त्यो फुसदको अवधिमा आपसी परिचय लगायत धेरै भलाकुसारी भए ! मैले आफ्नो सबै वृतान्त बताएँ उस्लाई ! उसको बोलाइ, भावना अनि सदासयतादेखि यति प्रभावित भएँछु कि, मेरी सौतेनी आमा र घरमा ड्याडीको निरिह अवस्था र उहाँहरुले म र भाइबहिनीलाई गर्ने व्यवहार बिचको भिन्नताका बारेमा समेत ओकलेंछु !

भर्खरै जागिरको सिलसिलामा उपत्यका छिरेको त्यो मान्छेले पनि आफ्नो संघर्षका धेरै उदाहरण दियो र आजको अवस्थामा आइपुग्दाका अनुभव पनि सुनायो !

उसले मलाइ मात्र किन्चित बिचलित नहुन सल्लाह दिनु बाहेक कसैलाई कुनै दोष दिएन ! आत्मसम्मानमा ठेस पुग्ने र अरुले आफूतिर चोर औंला ठड्याउने काम नगरेसम्म कसैले कसैको कुभलो गर्न सक्दैन भनेर उसले मलाइ सम्झायो ! जीवनमा आज मात्र १० मिनेट अगाडि भेटेको मान्छेले १८ बर्षदेखि जीवन संघर्ष गरेकी म जस्ती नारीलाई यत्तिको ढाडस दिंदा यो नारीमन नपग्लिने कुरै भएन ! किन किन म ऊप्रति आकर्षित भएँ !

करीव १० मिनेटपछि जाम खुल्यो ! बाटाभरी पनि उसले मलाइ सान्त्वना मात्र दिईरह्यो ! किन किन उसका सुझाव र सल्लाहले मलाइ जीवन जिउने नयाँ आधार र उर्जा दिएको थियो र कता कता ममा उप्रति समर्पण र आशक्तिको भावना सिर्जना भै सकेको थियो !

एक्कासी ऊ बोल्यो "ल त" ! मा झस्किएँ गठ्ठाघर आइसकेछ ! मलाइ छुट्टिन मन लागेन ! उसैपनि उसको ढाडसले उर्जा दिएकै थ्यो र त  केहीछिन घर पुग्न ढिलो हुँदैमा केहि हुनेवाला छैन भन्ने लाग्यो र   भनेँ "चिया पिएर जाउँ न" !

"यहीं नजिकै हो र ? हो भने ठिकै छ पिउं, मसँग अझै १५ मिनेट टाइम छ !" उसले मैले आफ्नै घरमा चिया पिउने प्रस्ताव राखेको बुझ्यो क्यार ! हुन त यति लामो कुरा हुँदा म उसलाई घरमा लगेर चिया पियाउँन सक्ने अवस्थामा छैन भनेर उसले बुझ्नु पर्ने हो तर त्यो कुराले मलाई आफैँ क्षुब्द र लज्जित बनायो र लाज पचाएरै भनेँ "हैन, मेरो घर त अलि भित्रपट्टि छ अनि घरमा आज पूजा भएकोले भिडभाडमा  चिया पिउंन अलि चाँजो नमिल्ला बरु यतै पिउं न !"  

नजिकैको बेकरी क्याफेमा उसले बाइक साइड लगायो ! चिया पिउन्जेल बाटोभरीकै कुराले निरन्तरता पायो ! मोबाइल नम्बर आदान प्रदान भयो, आपसमा बराबर सम्पर्कमा रहने बिस्वास दिलायौं, ऊ मेरो असल अभिभावक र म उसकी असल साथीकि रूपमा एक अर्कालाई स्विकार्यौं  ! म झनझन उप्रति आकर्षित हुँदै गएँ ! हामि छुट्टियौं !

उसको अभिभावकत्व, माया, सद्भाव अनि मेरो पारीवारीक अवस्था, एक्लोपन र हुनसक्छ उमेरका कारण उप्रति  मेरो आशक्ति यति बढ्यो कि मैले मोबाइलमा कुरा गर्दै जाँदा एकदिन अनायासै उसँग बिवाहको प्रस्ताव राखें !

ऊ  केहीबेर बोलेन ! म पनि अल्मलिएँ ! तर जव उसले जवाफ दियो म छाँगाबाट खसें ! ऊ भन्दै थियो "मैले तिमीसँग सच्चा साथीको भूमिका निभाउन  वाहेक केहि गर्न सकिनँ, सक्छौ जीवनभरी मित्रता निभाउ सक्दैनौ भने हाम्रो भेट अप्रिल फुलमा भएकोले, त्यो सम्बन्धलाई त्यसैगरी बुझ, समयचक्रले म केहि महिनामै बाबु बन्दैछु, बरु क्षमा गर दूरदराजको यो साथीले तिमीलाई विवाहमा निम्तो दिन सकिनँ !"

मैले पूरानो क्यालेन्डर पल्टाएर हेरें जहाँ मैले आफैं लेखेको थिएँ "Finally I Found My Real Idol..."


२०६३/१२/१८.... (होटल पवन,भैरहवा)

Friday, March 30, 2012

बालक हराएको सूचना (गोडा छत्तिसेक बर्षको) ।।

मान्छे यिनी साह्रै गुनी, पश्चिमका बाहुन,
धेरै दिन् भो भेट्घाट छैन, ऐले गा'का काँहुन ।।

पिरिम गर्थे हामीलाई, आज टाढा भा'छन,
कि बा हाम्लाई छाडि, यिन्ले अन्तै माया ला'हुन ।।

बेइमानी त गर्दैनन हौ, फर्की आऊलान एकदिन,
सुखी रहुन खुशी रहुन, जता सुकै जाउन ।।

मन्का कुरा पोखम भने, भित्तो टाली गा'छन,
कामना छ यो भित्तामा, दिन दिनै धाउन ।।

दोबाटोमा भेट हुँदा, सुख दु:ख साट्थ्यौँ,
आजभोली भेटै हुन्न, तन्क्यो क्या हो टाउन ।।
छिसिक्क सूचना पाउने बित्तिकै छ एक छ छ एक छैनमा खबर पाउँ न है ।

धन्य हुन्थ्यो आँशुलाई सधैंभरी ढाँट्न पाए...

धन्य हुन्थ्यो आँशुलाई सधैंभरी ढाँट्न पाए,
अझै धन्य हुनेथियो जिन्दगी नै साट्न पाए !!

साउनको भेलसरी पिडा बल्झी-बल्झी आउछन,
धन्य हुन्थ्यो खुशी राखी दु:ख चाहिँ छाँट्न पाए !!

हाँसो के हो खुशी के हो बिर्सिगएँ आज सारा,
धन्य हुन्थ्यो बरु चाँडै यो जिन्दगी काट्न पाए !!

कत्ती जाती हुँदो होला, गर्न मिल्ने आँफैँ भए,
छोट्याऊँथेँ जीवन्-डोरी आफूले नै बाट्न पाए !!
लास्टै सेन्टी भो कि क्या हो ? तर अँह म "ज्यान गएपनी" जीन्दगिदेखी भाग्दिन् !

आफ्नै सवाल आफ्नै जवाफ.....

सवाल 
धन्य हुन्थ्यो आँशुलाई सधैंभरी ढाँट्न पाए,
अझै धन्य हुनेथियो जिन्दगी नै साट्न पाए !!
जवाफ
आँशु जाबो त निर्जीवै हो, त्यस्लाई ढाँटी क्या पो गर्छौ,
भुख्का बज्या पर्‍यो भने, जीवन साटी क्या पो गर्छौ !!
सवाल 
साउनको भेलसरी पिडा बल्झी-बल्झी आउछन,
धन्य हुन्थ्यो खुशी राखी दु:ख चाहिँ छाँट्न पाए !!
जवाफ
तिलको तेल भए पनी साउनको भेल भए पनी,
सक्छौ भने उखेल हौ, दु:ख छाँटी क्या पो गर्छौ !!(ठुटा नपलाओस भनेर)
सवाल 
हाँसो के हो खुशी के हो बिर्सिगएँ आज सारा,
धन्य हुन्थ्यो बरु चाँडै यो जिन्दगी काट्न पाए !!
जवाफ
दु:ख चाहिँ बिर्स साथी, सुख किन बिर्सिनु हौ,
सक्छौ भने दु:ख काट जीवन काटी क्या पो गर्छौ !!
सवाल 
कत्ती जाती हुँदो होला, गर्न मिल्ने आँफैँ भए,
छोट्याऊँथेँ जीवन्-डोरी आफूले नै बाट्न पाए !!
जवाफ
गर्नु के त गर्ने जती मिल्ने जती सबै कुरा,
लामो बाटे पिङ्गै हुन्थ्यो, छोटो बाटी क्या पो गर्छौ !!


Thursday, April 7, 2011

~गीत~


















दाईजो उन्लाई आफ्नो मन छोडी आएछु,
एकोहोरो    माया   उतै   जोडी   आएछु ।।

रहर नै नभएको हैन साथ जीवन जीउने,
मनको तृष्णा साथै रम्ने, साथै बरु आँशु पिउने,
नमौलाउने फूलको बेर्ना गोडी आएछु,
लर्बरिएका यिनै पाइला मोडी आएछु ।।

भारी भयो मनको वह सकिएन बिसाउन,
सकिएन बिर्सिनलाई अनी खुशी मिसाउन,
जिन्दगीका सपना सबै तोडी आएछु,
कल्पनाको  सिसमहल फोडी आएछु ।।

दाईजो उन्लाई आफ्नो मन छोडी आएछु,
एकोहोरो    माया   उतै   जोडी   आएछु ।।

(आज पहिलो प्रयास गरेको गीत लेख्ने । भयो या भएन ? छात्तिमा हात राखेर कमेन्ट गर्दिनुस् है...फुर्सद भए !)

घाम, नयाँ नेपाल अनी ठुले....

आँखामाथि हत्केलाको पाली गाँसेर,
चियाउँछु यसैगरी सँधै,
क्षितिजबाट घाम नअस्ताउन्जेल,
अनी
कल्पना गर्छु,त्यो घाम र मेरो ठुले,
अहँ,
पटक्कै मेल खाँदैन यि दुइमा,
यो घाम प्रत्येक साँझ हराउँछ ,
भोलिपल्ट उदाउँछ,
तर,परिवर्तन र नयाँ नेपालको नारा बोकेर,
अँध्यारो रातमा हिँडेको मेरो ठुले,
अहँ फर्किएन,
हो,
झट्ट सम्झिएँ,ठुले र नयाँ नेपाल सहोदर छन,
न नयाँ नेपाल आयो,
न त उ नै,
तर समिकरण,घाम, नयाँ नेपाल र ठुलेबिचको,
कहिल्यै मिलेन,
स्कुलमा हिसाब नमिलेर,
फेल भएकोगोल्ठेको छोरो जस्तै,
कतै जूनीभरको समिकरण मिलाउन नसक्दा,
म जिन्दगीमै फेल त भईनँ ??????

Tuesday, April 6, 2010

आपुइ नि म .... :)....First snap of my life...:)


परिवर्तन


मनभित्र सजाई राख्छु आँखाको म नानी भन्थ्यौ,
सधै भरी संगै बस्छु मायाकी म खानी भन्थ्यौ !!

मेरो माया आज तिम्लाई किन यस्तो पासो भयो,
बिताउँदा ति दिनहरू सधैं मलाई रानी भन्थ्यौ !!

घाँस जाँदा, मेला जाँदा, जाँदा हवस पानी भर्न
कहिले नि नबिझाउने कति राम्रो बानी भन्थ्यौ !!

हरे दैव, किन आज मेरै वानी नपच्ने भो,
दुनियाँका नारीमध्ये मलाई नै ज्ञानी भन्थ्यौ !!

शर्त राखी रोज्नु परे मलाई र जिन्दगीलाई,
जीवननै त्याग्छु म त मर्छु तिम्लाई छानी भन्थ्यौ !!

Monday, April 5, 2010

सुजी !


क्षितिजपारी त्यो गाउँको बाटो भेटिएन !!
यो शहरमा खोजे आफ्नो माटो भेटिएन!!

बिहानीको झुल्कासँगै, झाँके यता उती,
आफन्तको झल्को दिने टाटो भेटिएन!!

नयाँ पिडा साह्रै दुख्ने, जाती पुराना नै,
छामी हेरेँ घाऊ उही खाटो भेटिएन !!

चस्स किन दुख्यो भनी मुटु छामी हेरे,
एउटा थियो तर अर्को पाटो भेटिएन !!

हेर्छु सधैं उही गल्ली ब्यथा उस्तै उस्तै,
डेरा सार्न खोजे अन्तै साटो भेटिएन ।


सुरेश + जितेन्द्र = सुजि को हलुवा हुनुपर्ने गजल पो निस्क्यो बाइ !

मेरा दुई ...



१)
अनायासै खुशी बोकी आयौ मेरो जिन्दगीमा,
चुहिएको छानो तिम्ले छायौ मेरो जिन्दगीमा,
म त मरेँ मरेकै थेँ तिम्रो खुशी भए पुग्छ,
अवसरवादी कसमहरु खायौ मेरो जिन्दगीमा ।।

२)
नजिक नआउ भन्छु प्रिये समाजको घात होला,
मन्दिर नधाउ भन्छु प्रिये कुजातको बात होला,
हाम्रा लागि सवै बैरी पिडा लुकाइ बाँच्नै पर्छ ,
गीत नगाउ भन्छु प्रिये बैंश चढ्या मात होला ।।

खडेरी.कम


छताछुल्ल पार्छौ माया, सम्हाल्न नै कष्ट प्रिये,
कैलेसम्म दिन्छौ माया, बनाइदेउ न प्रष्ट प्रिये ।।

नयाँ जोगी बनी तिम्ले, धेर् खरानी धस्या हो कि,
झसङ्ग पो भएँ माया, हुने हो कि नष्ट प्रिये ।।

जिन्दगीभर यसैगरी, मायामा नै रम्छु म त,
नझुक्याउ है नत्र म त, हुन्छु पथ-भ्रष्ट प्रिये।।

आरम्भ मै यो मायामा, के गर्नु र शंका साथी,
पिडा हुन्छ जिन्दगीभर, फाटे माया फस्ट प्रिये।।

मायाको यो मैदानमा, आउ साथी सँगै खेलौँ,
जूनी रहेसम्म गर्छु, यो मायामा ट्रस्ट प्रिये ।।

नेपाली शब्दको लास्टै खडेरी लाओ नि त अनी हान्देँ बङ्रेजिज :)

किन चाहियो र ...


सामिप्य नै प्यारो प्रीये, घाम किन चाहियो र,
मुस्कानले डाक मलाई, नाम किन चाहियो र ।
जून देख्दा आकासमा, सम्झनाले सताउँछ,
तिम्रा मीठो याद भए, काम किन चाहियो र ।
विश्वासलाई साक्षी राखी, खुल्ला पत्र देउ प्रिये,
दुनियाँलाई छारो हाल्न, खाम किन चाहियो र ।
हामी दुई नअट्ने रे, कस्तो स्वार्थी संसार यो,
आफन्त नै विरानो यो, ठाम किन चाहियो र।
दुनियाँ नै बैरी हुने, कस्तो माया साटिएछ,
ईर्ष्या मात्र मौलाउने, गाम किन चाहियो र ।

एउटा अर्को प्रयास :)


धर्ति छाडि आकाशको, जून किन खोज्छ्यौ तिमी,
मलाई छाडि पराइको, हुन किन खोज्छ्यौ तिमी ।।

आँखाभरी तिम्रै माया, मनमा पनि नियाल न,
मैलो मानि मेरो माया, धुन किन खोज्छ्यौ तिमी ।।

सधैं तिम्लाई खुशी दिन्छु, कष्ट सबै आफैँ पिउँला,
खुशी भन्दा नौलो अर्को, गुन किन खोज्छ्यौ तिमी ।।

के कमी भो मेरो माया, खुशी दिन चुकें कि त ?
साथै हिडौ भन्दा मैले, रून किन खोज्छ्यौ तिमी ।।

रम्नु पर्छ यथार्थमा, यो धर्ति नै घर हाम्रो,
आकाशका तारा मात्रै, छुन किन खोज्छ्यौ तिमी ।।

अर्को प्रयास...


इन्द्रकमल फूलसरी,मीठो वास्ना छर्दै आयौ,
रित्तो थियो मन्को झोली,मिठो माया भर्दै आयौ ।।

खुसी हो कि मात हो यो, आँफैलाई नै बिर्सिएछु,
मैले आँक्न नसकेको, प्रीतसागर तर्दै आयौ ।।

शून्य लाग्थ्यो हिजोसम्म, संसारमा एक्लै छु म,
मल्हम बनी आज तिमी ,पीडा सबै हर्दै आयौ ।।
लाग्थ्यो मलाई कहाली नै, एक्लो जीवन सोचिहेर्दा,

ढुक्क भएँ सँगै बाँच्ने, तिम्ले बाचा गर्दै आयौ ।।

कति सुन्दर सपनी झैँ, खुशी दियौ जिन्दगीको,
लाग्छ तिमी स्वर्गबाट, परीसरी झर्दै आयौ ।।

यस्तै छ हौ माइला...


मरिच चाउर्यो उस्कै रागले, तिमी आफ्नै मातले माइला,
भित्रभित्रै जलन होला, तिम्रा आफ्नै घातले माइला ।।

हाम्लाई तिम्ले खेलायौ नि, बिरालाले मुसा सरी,
आज भित्र पोल्दो होला, पुर्ख्यौली त्यो जातले माइला ।।

राजै मात्रै हुनु पर्ने, खोज्यौ तिम्ले रजाइँ गर्न,
सहेन हौ तिम्लाई हाम्रो, करले ख्वाको भातले माइला ।।

रहर होइन हाम्रो पनि, वाध्य पार्यौ तुच्छ बोल्न,
आज तिम्लाई पोल्दो होला, हाम्रा यिनै बातले माइला ।।

ठान्दो हौला जनताले, धपाइदिए जङलतिर,
लखेट्या हो तिम्लाई आफ्नै, दशा साडे सातले माइला ।। ...जय होस् !