गएको चैत १८ गते घन्टौंदेखि पर्खंदै थिएँ माइक्रो, एक्कासी ऊ मेरा अगाडी झुल्क्यो !
ट्राफिक
जाम पनि त्यही बेला हुनुपर्ने, अलि अगाडि बसले टेम्पोलाइ ठक्कर दिएको
हल्ला पनि सुन्दै थिएँ ! टेम्पो चलाउने ड्राइभर दिदी घाइते भएर वि एण्ड वि
लगे रे भन्ने पनि सुनें ! हुन त अहिले बसको हर्नले तर्सेर कोहि लडेपनि वि
एण्ड वि नै लान्छन, आखिर उल्फाको धन त हो ! खैर, मलाइ सरोकार नभा'को कुरामा
किन चासो राख्नु ?
मेरो अगाडिको त्यो बाइकको हर्नले मलाइ
झस्कायो ... उसले अगाडिको गाडीलाई संकेत दिएको भएपनि मेरो आँखा उसैतिर
लम्कियो ! मलाइ लाग्यो भाइजर लगाएको त्यो अनुहार मसँग परिचित हुन पनि त
सक्छ ! मेरा आँखा उतिर के फर्केथे, उसले भाइजर खोल्यो र मुस्काए झैं गर्यो
! म पनि मुस्काएँ कि था छैन ! अनायासै उ बोल्यो "काँ सम्म ?" उस्लाई
लाग्यो होला म कसैको लिफ्ट लिन आतुर छु र उसबाट मैले आशा राखेको छु ! तर
बास्तबिकता त्यो नभएपनि निमेषभर मै मैले उसको सोचाइ सहि साबित गरेँ ! ५ बजे
नै घरबाट हिंडेकी म अबको १५ मिनेटमा घर पुग्नु पर्छ नत्र सानु ममीको खप्की
खानु र बिना आम्दानी ओभरटाइम जब गर्नुको विकल्पै छैन ! अहिले सवा १० भएको छ
र मैले जम्मा जम्मी १५ मिनेट भजाउनु छ आफ्नो इमान जोगाउन !
मैले
सोच बिचार नै नगरी त्यो अपरीचितलाई जवाफ दिएँ "म गठ्ठाघरसम्म" ! उसले खै
किन हो मलाइ तलदेखि माथिसम्म नियाल्यो र भन्यो "ठिकै छ, हिंड न त, म
कौशलटारसम्म जाने हुँ, छोड़दिउँला !"
म निरीह प्राणी झैं
उसको पछाडी बसें ! जाम अझै खुलेको थिएन ! त्यो फुसदको अवधिमा आपसी परिचय
लगायत धेरै भलाकुसारी भए ! मैले आफ्नो सबै वृतान्त बताएँ उस्लाई ! उसको
बोलाइ, भावना अनि सदासयतादेखि यति प्रभावित भएँछु कि, मेरी सौतेनी आमा र
घरमा ड्याडीको निरिह अवस्था र उहाँहरुले म र भाइबहिनीलाई गर्ने व्यवहार
बिचको भिन्नताका बारेमा समेत ओकलेंछु !
भर्खरै जागिरको
सिलसिलामा उपत्यका छिरेको त्यो मान्छेले पनि आफ्नो संघर्षका धेरै उदाहरण
दियो र आजको अवस्थामा आइपुग्दाका अनुभव पनि सुनायो !
उसले
मलाइ मात्र किन्चित बिचलित नहुन सल्लाह दिनु बाहेक कसैलाई कुनै दोष दिएन !
आत्मसम्मानमा ठेस पुग्ने र अरुले आफूतिर चोर औंला ठड्याउने काम नगरेसम्म
कसैले कसैको कुभलो गर्न सक्दैन भनेर उसले मलाइ सम्झायो ! जीवनमा आज मात्र
१० मिनेट अगाडि भेटेको मान्छेले १८ बर्षदेखि जीवन संघर्ष गरेकी म जस्ती
नारीलाई यत्तिको ढाडस दिंदा यो नारीमन नपग्लिने कुरै भएन ! किन किन म
ऊप्रति आकर्षित भएँ !
करीव १० मिनेटपछि जाम खुल्यो ! बाटाभरी
पनि उसले मलाइ सान्त्वना मात्र दिईरह्यो ! किन किन उसका सुझाव र सल्लाहले
मलाइ जीवन जिउने नयाँ आधार र उर्जा दिएको थियो र कता कता ममा उप्रति समर्पण
र आशक्तिको भावना सिर्जना भै सकेको थियो !
एक्कासी ऊ बोल्यो
"ल त" ! मा झस्किएँ गठ्ठाघर आइसकेछ ! मलाइ छुट्टिन मन लागेन ! उसैपनि उसको
ढाडसले उर्जा दिएकै थ्यो र त केहीछिन घर पुग्न ढिलो हुँदैमा केहि
हुनेवाला छैन भन्ने लाग्यो र भनेँ "चिया पिएर जाउँ न" !
"यहीं
नजिकै हो र ? हो भने ठिकै छ पिउं, मसँग अझै १५ मिनेट टाइम छ !" उसले मैले
आफ्नै घरमा चिया पिउने प्रस्ताव राखेको बुझ्यो क्यार ! हुन त यति लामो कुरा
हुँदा म उसलाई घरमा लगेर चिया पियाउँन सक्ने अवस्थामा छैन भनेर उसले
बुझ्नु पर्ने हो तर त्यो कुराले मलाई आफैँ क्षुब्द र लज्जित बनायो र लाज
पचाएरै भनेँ "हैन, मेरो घर त अलि भित्रपट्टि छ अनि घरमा आज पूजा भएकोले
भिडभाडमा चिया पिउंन अलि चाँजो नमिल्ला बरु यतै पिउं न !"
नजिकैको
बेकरी क्याफेमा उसले बाइक साइड लगायो ! चिया पिउन्जेल बाटोभरीकै कुराले
निरन्तरता पायो ! मोबाइल नम्बर आदान प्रदान भयो, आपसमा बराबर सम्पर्कमा
रहने बिस्वास दिलायौं, ऊ मेरो असल अभिभावक र म उसकी असल साथीकि रूपमा एक
अर्कालाई स्विकार्यौं ! म झनझन उप्रति आकर्षित हुँदै गएँ ! हामि छुट्टियौं
!
उसको अभिभावकत्व, माया, सद्भाव अनि मेरो पारीवारीक
अवस्था, एक्लोपन र हुनसक्छ उमेरका कारण उप्रति मेरो आशक्ति यति बढ्यो कि
मैले मोबाइलमा कुरा गर्दै जाँदा एकदिन अनायासै उसँग बिवाहको प्रस्ताव राखें
!
ऊ केहीबेर बोलेन ! म पनि अल्मलिएँ ! तर जव उसले जवाफ
दियो म छाँगाबाट खसें ! ऊ भन्दै थियो "मैले तिमीसँग सच्चा साथीको भूमिका
निभाउन वाहेक केहि गर्न सकिनँ, सक्छौ जीवनभरी मित्रता निभाउ सक्दैनौ भने
हाम्रो भेट अप्रिल फुलमा भएकोले, त्यो सम्बन्धलाई त्यसैगरी बुझ, समयचक्रले म
केहि महिनामै बाबु बन्दैछु, बरु क्षमा गर दूरदराजको यो साथीले तिमीलाई
विवाहमा निम्तो दिन सकिनँ !"
मैले पूरानो क्यालेन्डर पल्टाएर हेरें जहाँ मैले आफैं लेखेको थिएँ "Finally I Found My Real Idol..."
२०६३/१२/१८.... (होटल पवन,भैरहवा)